आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

‘नाइट लाइफ’मा किन हुन्छन् प्रहरी बाधक ?

‘नाइट लाइफ’मा किन हुन्छन् प्रहरी बाधक ?

धरान,
रातमा रंगिने शहरहरु मध्ये पूर्वको धरान शहर पनि एक हो । धरान धेरै नाचगान, डान्स पार्टी, कन्सर्ट आयोजना हुने शहर हो। पछिल्ला केही वर्षदेखि डान्स पार्टी र कन्सर्टमा रमाउने पुस्ताले नाइट लाइफ खोजिरहेको छ। त्यसैले त क्लब, दोहोरी, रेस्टुरेन्ट र बार धरानमा थुप्रै खुले। युवायुवतीहरू पार्टी, कन्सर्ट, क्लब, बार लगायतमा गएर नाच्ने, गाउने र रमाउने कोसिस गरे। तर, उनीहरूले दिल खोलेर, धीत मरुञ्जेल नाइट लाइफमा रमाउन पाएका छैनन्।

धरानको बगरकोटमा साँझ परेपछि मान्छेहरूको चहलपहल सुरु हुन्छ। लस्करै खुलेका दर्जनौँ क्लब, रेस्टुरेन्ट, लाउन्ज र बारमा रात छिप्पिँदै जाँदा खाने पिउने र नाच्दै रमाउनेको भीड लाग्छ। पूर्वका विभिन्न ठाउँ र भारतबाट आउने पर्यटकसमेत बगरकोटमा रमाउन पुग्छन्। बगरकोट आफ्नै तालमा रमिरहेको बेला प्रहरीहरू पुग्छन् र चाँडो बन्द गर्न चेतावनी दिन थाल्छन्। १० बजे त बजारै बन्द गराइदिन्छन्।

प्रहरीले क्लब, बार र लाउन्जका सञ्चालकलाई त गाली गर्दै बन्द गर्न लगाउँछन् नै। विभिन्न ठाउँबाट आएका ग्राहकलाई समेत गाली गर्छन्। अबेर भएमा पार्किङ गरेर राखिएका ग्राहकका गाडी र मोटरसाइकलको प्रहरीले नै हावा खोलिदिन्छन्। प्रहरी गाडीको हावा खोल्ने मेसिनै बोकेर हिँड्छन्। एक छिन अघिसम्म रमाउँदै नाचिरहेका प्रहरीको यस्तो व्यवहारले दुःखी बन्दै घर फर्किन्छन्।

बगरकोटमा नाइट मार्केटको सम्भावना देखेर एमएच लाउन्ज एन्ड बार खोलेका जीवन मेन्याङ्वो प्रहरीकै अवरोधका कारण समस्या भएको बताउँछन्। बगरकोटमा अहिले ३० भन्दा बढी रेस्टुरेन्ट, बार छन्। तिनमा तीन सयजति नेपालीले रोजगारी पाएका छन्। त्यसबाहेक स्थानीय ब्यान्ड, फोटोग्राफरले समेत अवसर पाएका छन्। प्रहरीले बारम्बार दुःख दिन थालेपछि स्थानीयले वडा समिति, उपमहानगरपालिकादेखि विभिन्न निकायमा पुगेर नाइट मार्केट चलाउने वातावरण बनाइदिन बिन्ती गरे। तर, प्रहरीले सुरक्षा दिन नसक्ने भन्दै कुरै सुन्न मानेन। मेन्याङ्वो सुनाउँछन्, ‘सानो ठाउँ छ हामी व्यवसायी प्रहरीसँगै मिलेर सुरक्षामा खट्छौँ, केही समस्या हुँदैन भनेर अनुरोध गर्दा पनि मान्दैनन्।’

२० वर्षअघिसम्म बगरकोट सेउती खोलाको बगर मात्र थियो। बिस्तारै साँझपख हावा खाँदै घुम्न जानेको उपस्थिति बढ्न थाल्यो। स्थानीय मिडियाले ‘बगरकोट’ नाम राखिदियो। त्यसपछि त्यहाँ जानेको संख्या झनै बढ्यो। १५÷१६ वर्षअघि पहिलो पटक उत्तम शाक्यले उत्तम सेकुवा कर्नर खोले। त्यसपछि प्रकाश, मेन्याङ्वोलगायत सेकुवा कर्नर खुले।

त्यहाँ जानेको संख्या बढ्दै जाँदा क्लब, बार पनि खुल्न थाले। अहिले बगरकोट धरानको सबैभन्दा व्यस्त नाइट मार्केटका रूपमा चिनिन्छ। त्यसैले कतिपयले यसलाई ‘पूर्वको ठमेल’ पनि भन्ने गरेका छन्। तर, प्रहरीले १० बजेपछि बन्द गराउँदा इन्जोय गर्न भनेर आउने खल्लो मान्दै फर्किने गरेको बगरकोटमा फोटोग्राफी गर्दै आएका विकास राई बताउँछन्। ‘सुरक्षा दिनुपर्ने सुरक्षाकर्मी नै नाइट लाइफमा रमाउन चाहनेका लागि बाधक बनिरहेका छन्,’ उनी भन्छन्।

धरानको पुतलीलाइनमा पनि पछिल्लो समय दर्जनौँ क्लब, पब, रेस्टुरेन्ट र बार खुलेका छन्। तर, त्यहाँ पनि राति १० बज्न नपाउँदै प्रहरी सिटी फुक्दै बन्द गराउन आइपुग्छन्। प्रहरीको व्यवहारले धमाधम खुलिरहेका रेस्टुरेन्ट समस्यामा परेका छन्। फ्रेन्ड्स गार्डेन रेस्टुरेन्ट लाउन्जका सञ्चालक सुमन श्रेष्ठ भन्छन्, ‘हामी राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्छौं। प्रहरीले सुरक्षा दिनुपर्ने हो तर हामी उल्टै उनीहरूबाट असुरक्षित भइरहेको छौँ।’

इटहरीमा पनि उस्तै छ, समस्या। पूर्वकै चोक र ठूलो बजारका रूपमा विकास भएको इटहरीमा पर्यटक विभिन्न ठाउँबाट रातिको समयमा आइपुगे होटल पाउनै मुश्किल हुन्छ। प्रहरीले इटहरीका होटल, रेस्टुरेन्टमा पुगेर बन्द गराउने गरेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली बताउँछन्। ‘टाढाबाट राति आइपुग्ने पाहुनालाई भोकै राख्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘प्रहरीले राति होटल रेस्टुरेन्ट बन्द गराएर के गर्न खोजेको हो बुझ्न सकिएन। सोध्यो भने सुरक्षाका लागि भन्छन्। हामीले होटल खोलेर कुन असुरक्षाको काम गरेका छौँ र रु’

पछिल्लो समय धरान, इटहरीजस्तै विराटनगर, दमक, बिर्तामोडलगायत शहरमा नाइट क्लब, बार, रेस्टुरेन्ट र लाउन्ज धमाधम खुलिरहेका छन्। स्थानीय युवा पुस्ताको राम्रो जमघट हुने यस्ता ठाउँमा उनीहरू खुलेर रम्न र जम्न पाएका छैनन्। सबैतिर प्रहरीले चाँडै बजार बन्द गराउने गरेका छन्। होटल रेस्टुरेन्ट राति नै चल्ने हुन्।

प्रायः ग्राहक ८ बजेतिर रेस्टुरेन्ट, बारतिर पुग्ने गर्छन्। प्रहरीले एक छिन रमाउन नपाउँदै दुःख दिन थालेपछि व्यवसायीदेखि ग्राहकसम्म सबै हैरान छन्। होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई पूर्वको नाइट कल्चर प्रहरीकै कारण विकास हुन नपाएको बताउँछन्। उनी भन्छन्, ‘हामी प्रहरीसँग बसेर पटक–पटक छलफल गरिरहेका छौँ। बिस्तारै समस्या समाधान हुन्छ भन्ने आशा छ।’

उनी थप्छन्–‘धरानमा त प्रहरीले राति १० बजेपछि क्लब, रेस्टुरेन्ट मात्र होइन ठेलामा मःमः, चाउमिन बेच्नेलाई समेत लखेट्छ। राति सडकमा हिँड्ने मान्छेलाई समेत अपराधीझैँ व्यवहार गर्छ। बिनाकारण गाली गर्छ।’
–सम्पूर्ण साप्तहिक