आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

वडा अध्यक्ष विष्णुमान महर्जनको कच्चा निर्णय, सयौँ जग्गा धनी विस्थापित बन्दै

वडा अध्यक्ष विष्णुमान महर्जनको कच्चा निर्णय, सयौँ जग्गा धनी विस्थापित बन्दै

काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिकाले यसअघि जग्गा वर्गिकरणका लागि सूचना जारी गर्यो । आवशीय, कृषि, खनिज, औद्योगिक लगायत विभिन्न किसिमले जग्गाको वर्गिकरण गर्ने उद्देश्यले सूचना जारी गरेको थियो । वर्गिकरणका लागि वडामा विवरण संकलन गरी वडाको सिफारिसमा नगरपालिकामा पठाउने र नगरको सिफारिसमा मालपोत कार्यालयले जग्गा वर्गिकरण गर्ने प्रकृया रहेको छ । सोही अनुसार नगरबोर्डले नगरभरीको जग्गा यही कात्तिक १८ गते वर्गिकरण गर्ने निर्णय गरियो ।

नगरबोर्डले गरेको उक्त निर्णय सार्वजनिक भएपछि विवाद चुलिएको छ । नगरको वडा–६ को पुरै गाउँलाई औद्योगिक क्षेत्र बनाएपछि विवाद चुलिएको हो । ‘साविक लेले वडा नं ७ र ८ को नल्लु खोलाको दायाँ बायाँ ७०० मिटर औद्योगिक क्षेत्र, वडाको बाँकी सम्पूर्ण क्षेत्र आवासीय क्षेत्र’ भनी भूमि वर्गीकरण गरेको निर्णयमा उल्लेख गरिएको छ । निर्णय नं १ मा ‘भू उपयोग ऐन, २०७६ को दफा ४ बमोजिम यस नगरभित्रका जग्गाहरुलाई सम्बन्धित वडाको सिफारिसका आधारमा देहाय बमोजिम वर्गीकरण गर्ने निर्णय गरियो’ भनी उल्लेख गरिएको छ ।

स्मरणीय यो छ कि, वडा नं ६ का वडा अध्यक्ष विष्णुमान महर्जनको नल्लु खोलामा अवैध ढुंगा खानी रहेको छ । सार्वजनिक स्थान र वन मिचेर उनले खुलम खुला रुपमा ढुंगा खानी चलाईरहेको स्थानीयहरु बताउँछन् । उही अवैध खानीबाट कमाएको रकमबाट उनले दुई कार्यकालसम्म वडा अध्यक्षमा निर्वाचित भएको स्थानीयको आरोप छ । उनले आफ्नो व्यवसायलाई थप मद्धत पुर्याउने उद्देश्यले जग्गा वर्गीकरणलाई फाईदा उठाउँदै पुरै गाउँ बस्तीलाई औद्योगिक क्षेत्र बनाएका छन् । उनकै सिफारिसमा औद्योगिक क्षेत्र वर्गीकरण भएको देखिन्छ ।

उनले औद्योगिक क्षेत्र बनाउन सिफारिस गरेर उनलाई मतदान गर्ने सारा वडा बासीको छातीमा लात हानेका छन् । जग्गा कित्ताकाट, विक्री वितरण लगायतमा यस निर्णयले अंकुश लगाउने छ । उनको यस्तो कच्चा र अदूरदर्शी निर्णयका कारण उनको वडाबासी मात्रै होइनन्, छिमेकी वडा नं ५ को पहाडेसम्म, वडा नं ९ को टिकाभैरब, सानागाउँ र काफलबोटसम्म, वडा नं ७ को बुरुन्चुलीसम्मका जग्गाहरु प्रत्यक्षरुपमा प्रभावित हुनेछ। र जग्गावालाहरु विस्थापित हुनु पर्नेछन् ।

उनको यो निर्णयका कारण गैरीगाउँ, जुरेडाँडा, सिमलटार, कालिटार, लप्से, फैडोल, सिखर्पा, छाप, पहाडेसम्मका जग्गावालाहरु प्रत्यक्षरुपमा प्रभावित बन्नेछन् । उनको यस्तो कदमप्रति वडाबासीले तीब्र आक्रोश पोखिरहेका छन् । सधै विवादमा तानिरहने उनी आफ्नै निर्णयका कारण राम्रैसँग आलोचित बन्न पुगेका छन् । यस विषयमा नगरपालिकामा बुज्दा, नगरका एक उच्च अधिकारीले वडा अध्यक्षकै सिफारिस अनुसार जग्गा वर्गीकरण भएकोले यसमा नगरको केही हात नहुने बताए ।