शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

काठमाडौं । 
ललितपुरको गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालको ट्रमा सेन्टर अलपत्र बनेको छ । यसलाई कसकसले अलपत्र बनाए, के कति कमिसनको खेल भयो भन्ने पनि विस्तारै खुलाउँछौँ । अत्याधुनिक तवरको २ ओटा अप्रेसन कक्ष, भेन्टिलेसन सहितको एनआईसीयू, आइसीयु रहने गरी निर्माण गरिएको उक्त भवन अलपत्र पारिएको छ । निकै तामझामका साथ १ वर्षअघि उद्घाटन गरिए पनि अझै  भवनलाई सञ्चालनमा ल्याइएको छैन । भवनको मूल ढोकामा ताला लगाएको छ । ट्रमा सेन्टर भवनलाई आनन्दवन ट्रमा एण्ड इमर्जेन्सी वीङ’ नाम दिइएको छ । 

आकस्मिक रुपमा हुने दुर्घटना, बाढी पहिरो, भुकम्प जस्ता विपत्तिमा परी घाइते भएकालाई लक्षित गरी गुणस्तरीय सेवा दिने भन्दै निर्माण गरिएको ट्रमा सेन्टर समयमै सञ्चालन नगर्नुमा धेरै शंका उब्जिएको अस्पतालका एक अधिकारीले बताए । ‘भवन निर्माण हुन ढिलाई भयो, उद्घाटन भइसकेको भवनबाट सेवा दिन सकिरहेको छैन । यो कमिसनको खेल नभए के को खेल हुन सक्छ ?’, ती अधिकारीले बताए । 

सन २०१९ मे १ मा निर्माण थालिएको भवन २०२१ मे १ मा सम्पन्न गर्नु पर्ने थियो । तर भवन निर्माण सम्पन्न हुन मात्रै १ वर्ष बढी लाग्यो । भवनमा अस्पतालमा प्रयोग गर्नु पर्ने विभिन्न सामाग्री यत्रतत्र छरिएको छ । भवन भित्र त्यो मिलाउने कोही मानिस छैनन् । भवन निर्माण र सामाग्री व्यवस्थापनको जिम्मा पाएको निर्माण व्यवसाय कम्पनी रविना कन्स्ट्रक्सन भवन र सामाग्री लथालिङ्ग पारेर सम्पर्क विहीन छन् । कम्पनी आफै सम्पर्क विहीन भएका हुन् कि सम्पर्क विहीन बनाइएका हुन् त्यो खोजीको विषय बनेको छ । 

अस्पताल प्रशासनका एक अधिकारीले अस्पतालका केही व्यक्ति अस्पतालबाट गुणस्तरीय सेवा सुविधा दिने भन्दा पनि कमिसन बढी आउने सामाग्री खरिद, भवन निर्माण लगायतमा ध्यान दिने गरेको आरोप लगाए । ‘यहाँ दक्षिण ललितपुरका छिमेकी जिल्ला काभ्रे, मकवानपुरका बिरामी आउँछन् । अस्पताल नजिकै सडक चौडा पारिएको छ । कान्तिलोकपथ राजमार्ग छ । सडकमा हुने दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार गरी पाटन रेफर गर्न बाध्य छौँ । कमसेकम बनाइसकेको ट्रमा सेन्टर सञ्चालन गर्न पाएको भए यही सुलभ सेवा लिन पाउने थिए ।’,ती स्रोतले भन्यो–‘तिनीहरुलाई सेवासँग सरोकार छैन, कमिसनसँग मात्रै सरोकार छ ।’

कुल २५ करोड ७६ लाख १५ हजार ८ सय ९२ रुपैयाँ लागतमा मा भवन निर्माण देखि सामाग्री खरिद र व्यवस्थापनको जिम्मा कम्पनीले पाएको थियो । यस विषयमा अस्पताल प्रशासन प्रमुख शेरबहादुर गुरुङले अस्पतालको ट्रमा सेन्टर चाडै सञ्चालनमा आउने दाबी गरे । कहिले सञ्चालनमा आउँछ भन्ने ठोस जवाफ उनले दिन सकेनन् । ‘हामीलाई डोनरदेखि अनेक ठाउँबाट ट्रमा सेवा सञ्चालन गर्न दबाब छ । हामी चाँडै सञ्चालनमा ल्याउँछौँ । केही प्राविधिक रुपमा काम भइरहेको छ ।’, उनले बताए ।