शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

काठमाडौं । 
ललितपुरको गोदावरी नगरपालिका भित्रका ढुंगा, गिट्टी, बालुवालगायत खनिज पदार्थको निकासी कर उठाउने ठेक्का पाएको कर्मा कन्स्ट्रक्सनले प्रति ट्रिप ३ सय रुपैयाँ भन्दा बढी अवैध रुपमा रकम अशुल गरिरहेको पाईएको छ । टिकाभैरब हुँदै नख्खु खोला भएर निकासी हुने सवारी साधनमा तोकिएको भन्दा ३ सय रुपैयाँ बढी अशुल गर्दै कर्माले कमाउ धन्दा नै मच्चाईरहेको पाईएको हो । नख्खु खोलाबाट अधिकांस २६५ क्यु फिटको टिप्पर ढुवानी हुने गर्दछ । त्यहाँ देविचौर, बाबियागाउँ, डुकुछाप, नल्लु खोला, महादेवखोला लगायत खानी तथा क्रसर उद्योगबाट ढुवानी निकासी हुने गर्दछ । नगरपालिकाले प्रति क्यु फिटको २ रुपैयाँ ७५ पैसा निकासी करको मुल्य तोकि कर उठाईरहेका छन् । 

२६५ क्युको गाडीलाई ३ सय क्युफिट भनेर बिलमा बनाउने र त्यसमा १३ प्रतिशत भ्याट ९मुल्य अभिबृद्धि कर ० १ सय ७ रुपैयाँ २५ पैसा लगाउँदा ९ सय ३२ रुपैयाँ २५ पैसा हुन आउँछ । कर्माले ९ सय ३२ रुपैयाँ २५ पैसाको बिल ११ सय तिरेपछि हातमा थमाउँछन् । अर्थात २६५ क्युफिटको टिप्परलाई जबरजस्ती ३ सय क्युफिट बनाउँदै ११ सय रुपैया लिएर बाँकी हुन आउने १ सय ६७ रुपैयाँ ७५ पैसा फिर्ता दिँदैनन् । अर्थात २६५ को मात्रै लिने भए ७ सय २८ रुपैयाँ ७५ पैसा पर्न आउँछ । त्यसमा मुअक (भ्याट) १३ प्रतिशत ९४ रुपैयाँ ७४ पैसा जोड्दा ८ सय २३ रुपैयाँ ४९ पैसा पर्न आउँछ ।

टिप्पर वालालाई ८२३ रुपैयाँ ४९ पैसा लेखिएको बिल फिर्ता दिनु पर्ने हो तर २६५ क्युफिटको टिप्परबाट ११ सय तिर २ सय ७६ रुपैयाँ ५१ पैसा फिर्ता नदिई अवैध रुपमा अशुल गरिरहेका छन् । यसको मतलब दैनिक यहाँ ४ सय बढी टिप्परले ढुवानी गर्दछ । त्यही २७६.५१ रुपैयाँको ४ सय टिप्परको १ लाख १० हजार ६ सय ४ रुपैयाँ हुन आउँछ । यही दरले १ महिना अर्थात ३० दिनको ३३ लाख १८ हजार १ सय २० रुपियाँ अशुल हुने गर्दछ भने । कर्माले गत साउनदेखिनै यस्तै गरी अशुल गर्दै आईरहेको छ । कर्माले उठाईरहेको हालसम्म अर्थात १० महिनाको ३३ लाख प्रति महिनाको दरले ३ करोड ३१ लाख ८१ हजार २ सय रुपैयाँ अशुल भईसकेको देखाउँछ । 

यसरी खुलम खुला रुपमा अशुल भईरहँदा प्रशासन, नगरपालिका प्रशासन र जनप्रतिनिधि मौन बसीरहेका छन् । नगरपालिका स्रोतका अनुसार नगरप्रमुख गजेन्द्र महर्जनले नै कर्मालाई बाटो बनाउनका लागि बिलमै उल्लेख गरी रकम उठाउन सुझाएको बताईएको छ । बाटो बनाउनका लागि रकम अशुल गरिएको बताए पनि नख्खु खोलाको बाटोको अबस्था दयनिय बनेको छ । टिप्परसँग थप रकम अशुल गरेर बाटो नबनाई ठेकेदारले ठगी गरेको एक टिप्पर चालकले बताए । करोडौँ रुपैया अशुल गरेर ठेकेदारले कुम्ल्याएका छन् । 

कर्मा कन्स्ट्रक्सनका सञ्चालक रवि महर्जनले विलमा तोकिएको भन्दा ३ सय रुपैयाँ बढी रकम उठाएको स्वीकार गरे । ‘बिल भन्दा बढी रकम उठाएकै हो । साँढे १३ किलोमिटर सडक राज्यको कुनै निकायले मर्मत गर्न चासो देखाएन । सडक मर्मत नभएपछि सवारी गुड्ने कुरा भएन । सबै व्यवसायी, नगरपालिकाका मेयर लगायतको बैठकले बढी रकम उठाउने र सो रकम सडक मर्मतमा प्रयोग गर्न मौखिक सहमति भएको हो ।’, उनले भने ।
 
आफूहरुले ग्राभेल, पानी हालेर धुलो नियन्त्रण गर्ने, हेमपाईप लगायत मर्मत गरी सडक सुचारु गर्ने गरिएको उनले बताए । उठाईएको ती रकम सडकमै खर्च गरिएको उनले दाबी गरे । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उक्त क्षेत्रमा तत्काल बुझेर कारबाही गरिने बताए । ‘विलभन्दा बढी रकम उठाउन पाईदैन । त्यसो गरेमा कारबाहीको दायरामा आउँछ ।’, सिडिओ पण्डितले भने । त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण कोइरालाले कर्मा कन्स्ट्रसनलाई त्यसरी अनावश्यक शुल्क उठाउन नभनेको बताए । कर्माले गरेका उक्त कार्य सरासर अवैध भएकोले यसमा कारबाही हुने उनले बताए । यस विषयमा नगर प्रमुख गजेन्द्र महर्जनलाई जिज्ञासा राख्न खोज्दा उनले बोल्न चाहेनन् ।