शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

गोदावरीका मेयर गजेन्द्र मर्हजनविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)

रंगशाला अलपत्र पारी ढुंगा बेचेर करोडौं रकम अनियमित गरेको भन्दै कारबाही गर्न माग

गोदावरीका मेयर गजेन्द्र मर्हजनविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)

ललितपुर । 
ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रंगशाला अलपत्र पारी ढुंगा बेचेर करोडौं रकम अनियमित गरेको भन्दै कारबाही गर्न माग राख्दै उनीविरुद्ध बिहीबार उजुरी परेको हो । उनीमाथि अनुसन्धान गरी कारबाहीको माग राख्दै गोदावरी नागरिक सरोकार समूहले उजुरी दिएको छ । 
नगरपालिका वडा नम्बर १० स्थित झ्यालुमटारको साविक पूर्णलालको ढुंगा खानीलाई रंगशालाको योजना अगाडि सारे पनि योजना देखाएर रंगशाला बनाउनुको सट्टा अवैध ढंगाले ढुंगा उत्खनन गर्दै राज्य स्रोतको दोहन गरेको भन्दै कारबाहीको माग राखिएको उजुरीमा उल्लेख गरिएको छ । 

अख्तियारमा परेको उजुरीमा, ‘नगरपालिकाले रंगशाला बनाउन भन्दै विगत ५–७ वर्षदेखि योजना अगाडि सारिएको थियो । त्यस स्थान झ्यालुम्टार सामुदायिक वनको क्षेत्र पर्दछ । त्यस स्थानमा रंगशाला निर्माण गर्नका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृत भईसकेको पाईन्छ तर जग्गाको भोगाधिकार भने अझैसम्म पनि नगरपालिकाले प्राप्त गर्न सकेको छैन । यसको बाबजुत पनि नगरप्रमुख गजेन्द्र महर्जनले अमुक ठेकेदारसँगको साँठगाँठमा उक्त स्थानमा अवैध रुपमा ढुंगा उत्खनन् गरी बिक्री निकासी गराउन सहज पारिरहेका छन् ।’ उल्लेख गरिएको छ । 
 
रंगशाला निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताईएको छ । तर स्रोत खोजेर निर्माण थाल्नुको सट्टा नगरप्रमुख महर्जनले पदको दुरुपयोग गर्दै लोभ लालचमा परी रंगशाला निर्माणलाई भन्दा ढुंगा उत्खनन र बिक्रि निकासीमा ध्यान दिईरहेको आरोप छ । प्रतिस्पर्धामा ठेक्का खुलाई राजश्व दाखिला हुने गरी काम गर्नु पर्ने प्रकृया समेत मिचेर उपभोक्ता समिति बनाउने र त्यसको आवरणमा ठेकेदारसँगको मिलेमतोमा खुलमखुला रुपमा लुततन्त्र मच्चाइरहेको उजुरीमा उल्लेख गरिएको छ । ‘यसबाट करोडौँ रुपैयाँ रकम राजश्व दाखिला नभई अनियमितता भएको देखिन्छ ।’, उजुरीमा भनिएको छ । 
 
नगरपालिका र प्रदेश सरकारले रंगशाला निर्माणको नाममा पटक–पटक गरी २ करोड बढी रकम विनियोजन गरेको, बजेटको काम गर्न भन्दै उपभोक्ता समिति गठन गर्ने र उक्त समितीलाई आवरणमा राखेर फरक कम्पनीको भ्याट बिल काटेर हजारौँ परिणामको ढुंगा उत्खनन गरी निकासी गर्दै प्राकृतिक स्रोतको तीब्र दोहन गरिरहेको उजुरीमा उल्लेख छ । ‘नगरपालिकाको बोर्ड बैठकले नगरमा राजश्व संकलन गर्ने गरी काम गरिरहेको भनिए पनि उपभोक्ता समिति आवरणमा देखाउने तर ठेकेदार कम्पनीको बिल काटेर गरिएको कामले कसरी नगरमा राजश्व दाखिला हुन्छ ?’, भन्दै उजुरीमा प्रश्न गरिएको छ । 

‘दैनिक ३० देखि ४० ट्रिप्पर ढुंगा निकासी भईरहेकोछ । त्यसस्थानमा काम गर्ने कामदारले प्रतिट्रिप्पर ३ हजार रुपैयाँ नगरपालिकालाई छुट्याउनु पर्ने तर सो रकम बिल नकाटि छुट्याइएको बताईन्छ । दैनिक ३० ट्रिप्परको ३ हजारका दर ९० हजार रुपैयाँ सेटिङमा संलग्न नगरका कुन कुन पदाधिकारीलाई बुझाउनु पर्ने देखिन्छ । यसअघि पनि यस्तै गरी पटक पटक यस्तै गतिविधि दोहोर्याएर रंगशाला निर्माण अगाडि बढाउनुको सट्टा दोहन गरी निकासी गर्ने र राजश्व दाखिला नगरी अनियमितता गरिएको यस विषयलाई गम्भिर रुपमा लिएर अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’, उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘यसरी नगरको कोषमा राजश्व दाखिला हुनु पर्नेमा खल्तीमा भर्ने प्रवृतिले अनियमितता भएको प्रस्टै देखिन्छ । सो रकम को कस्लाई भाग लाग्छ भने बताईएको छैन । वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी मौन बसिनुले यसमा अनियमितता भएको देखिन्छ । वन समितिका सचिव शेखर न्यौपाने हाल वडा नम्बर १० का वडा अध्यक्ष छन् । उनी समेत यसअघि रंगशाला निर्माण उपभोक्ता समितिको अध्यक्षमा बसेर ढुंगा उत्खनन् र निकासीमा संलग्न भएका थिए ।’

‘यी सबैबाट रंगशाला निर्माण गर्ने योजना देखाई त्यसको आवरणमा अवैध रुपमा ढुंगा उत्खनन् र निकासी मात्रै गर्ने, रंगशाला निर्माणमा ध्यान नदिने, राज्यलाई र नगरको कोषमा संकलन हुने करोडौँ राजश्व समेत छल्ने गरी नगरप्रमुख महर्जन, वडा अध्यक्ष शेखर न्यौपाने, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी लगायत संलग्न भई अनियमितता गरिएकोले निजहरुमाथि सुक्ष्म ढंगले अनुसन्धान गरी कारबाही गर्दै राज्यको स्रोत बचाई दिनु हुन विनम्र अनुरोध गर्दछौँ ।’, भन्दै अख्तियारमा उजुरी गरिएको छ ।