आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

दरबार हत्याकाण्डः राज परिवारको रहस्यमय संहार

दरबार हत्याकाण्डः राज परिवारको रहस्यमय संहार

काठमाडौं
विक्रम संबत २०५८ जेठ १९ गते इतिहासमै कालो दिन बन्यो । त्यस दिन राजा वीरेन्द्रसहित उनको परिवारको संहार भयो । उनको वंश नै नाश हुने गरी हत्याकाण्ड घट्यो। नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा उक्त घटनाको २० वर्ष पुग्दा पनि अझै उक्त घटना रहस्यमय बनेको छ ।

उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले ‘आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको’ भन्ने खालको विवरण सार्वजनिक गरेको थियो।

तर त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन्। दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिए।

उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन्। तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ। तर ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन। त्यसपछि यो घटना एउटा अर्काे कोल्ड केस बन्यो ।