मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

ढुंगा खानी संचालक विष्टमाथि निर्घात कुटपिट, बेहोस बनाएर गाडी मुनि हालेर भागे

ढुंगा खानी संचालक विष्टमाथि निर्घात कुटपिट, बेहोस बनाएर गाडी मुनि हालेर भागे

विष्टलाई निर्घात कुटेपछि बेहोस बनाएर उनकै गाडि मुनि हालेर आक्रमण गर्ने मानिस भागेका थिए ।

काठमाडौं
ललितपुरको ढुंगा खानी संचालक सुदर्शन विष्टमाथि गएराति निर्घात कुटपिट भएको छ । खानीको कामले गोदावरी–७ कटुवल दह पुगेर फर्किँदै गर्दा बाटोमा उनीमाथि कुटपिट भएको हो । घटनापछि टिकाभैरबस्थित आनन्दबन अस्पतालमा उपचारपछि उनी गएराति नै घर फर्किएको स्रोतले बताएको छ । उनको मुख, आँखा, कानमा चोट पुगेको छ ।

खानीको काममा कटुवल दह पुग्दा विष्ट र अर्का खानी सञ्चालक शशी भन्ने शशीराज ठकुरीसँग व्यवसायिक विवादपछि विष्ट आफ्नो सवारी चढेर घर फर्किँदै थिए । काफलबोट भन्ने स्थानमा पुगेपछि एउटा मोटरसाइकलले बाटो छेकेर विष्टलाई गाडी बाहिर निकालेर आक्रमण गरेको बताईन्छ । विष्टलाई निर्घात कुटेपछि बेहोस बनाएर उनकै गाडि मुनि हालेर आक्रमण गर्ने मानिस भागेका थिए । स्रोतका अनुसार विष्ट र शशीको विवादपछि ती आक्रमण गर्नेलाई शशीले पिछा गर्न लगाएर कुटपिट गराएको आरोप छ । विष्टलाई त्यो मोटरसाइकलले पिछा गरिरहेको बताईएको छ ।

विष्टले आफूलाई कुटपिट गर्ने विरुद्ध प्रहरी वृत्त, चापागाउँमा किटानी जाहेरी दिएका छन् । उनीमाथि आक्रमण गर्नेको पहिचान खुलिसकेको छ । वृत्त प्रमुख टेक बहादुर कार्कीले गोदावरी–७ देविचौर बस्ने तम्बा भन्ने समिर थिङको विरुद्ध कुटपिटको जाहेरी परेको स्विकार गरेका छन् । उनका अनुसार थिङ फरार रहेकोले उनको खोजी कार्य जारी राखेको छ ।