मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

वडाअध्यक्ष विष्णुमानको समूहले कब्जा गरे देविचौरमा ५ सय रोपनी सार्वजनिक जग्गा

वडाअध्यक्ष विष्णुमानको समूहले कब्जा गरे देविचौरमा ५ सय रोपनी सार्वजनिक जग्गा

काठमाडौं
ललितपुरको गोदावरी नगरपालिका–६ का वडा अध्यक्ष विष्णुमान महर्जन विवादै विवादमा फसेका छन् । उनी संलग्न विवादित समूहले नगरकै वडा–७ देविचौरमा अवैध ढुंगा खानी रहेको स्थानमा नया तथ्य सार्वजनिक भएको छ ।

देविचौरको बाबिया गाउँ जाने बाटो मुनी उनी संलग्न समूहले २४ रोपनी जग्गा खरिद गरेको र त्यस भन्दा ८ सय मिटर मुनिका ५ सय रापनी सार्वजनिक वन पाखा कब्जा गरेको तथ्य खुलेको हो ।

उनको समूहमा नामुद खानी नाइके सुदर्शन विष्ट समेत रहेका छन् । उनको समूहले कब्जा गरी चलाएको ढुंगा खानीले एउटा सिंगो गाउँ बाबिया गाउँलाई समेत जोखिम बनाएका छन् । आफ्नो जग्गा टुप्पमा तर त्यसमुनिको सबै सार्वजनिक जग्गा आफ्नो भन्दै उनीहरुले अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेका छन् । त्यहाँ दैनिक उनीहरुले तीन वटा स्काभेटर प्रयोग गरी दैनिक ३ सय भन्दा बढी टिप्पर ढुंगा निकासी समेत गरिरहेका छ ।

स्थानीय गुण्डाहरु परिचालन गरेर गाउँ जाने बाटो मुनि अवैध ढुंगा खानी सञ्चालन गर्दा सिंगो बाबिया गाउँ त्रसित बनेको स्थानीय रमेश घिमिरेले बताए ।
वडा अध्यक्ष महर्जनले आफ्नै वडाको नल्लु खोला भन्ने स्थानमा २ सय रोपनी भन्दा बढी सार्वजनिक जंगलमा खुलम खुला रुपमा ढुंगा उत्खनन् गर्दै आईरहेका छन् । उनको ढुंगा खानी छेउमा राखिएको क्रसर समेत सार्वजनिक जग्गामा पर्दछ ।

वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक भिर पाखा जंगलमा यसरी दिउँसै अवैध कार्य गरेर कानुनको समेत धज्जी उडाएका छन् । उनीसँग यस विषयमा सम्पर्क गर्न पटक पटक फोन सम्पर्क गरे पनि उनी सम्पर्कमा आउन चाहेनन् । यस विषयमा नगरपालिकाका प्रशासकिय अधिकृत प्रविण कोइरालासँग जिज्ञासा राख्दा उनले चाँडै स्थलगत अवलोकन हुने र दोषी भेटिए कारबाहीको दायरामा ल्याउने बताए ।