मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

एमबीबीएसको प्रवेश परीक्षामा १८ लाखसम्म डील

एमबीबीएसको प्रवेश परीक्षामा १८ लाखसम्म डील

काठमाडौं
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा ‘खेताला’ परीक्षार्थीले परीक्षा दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले अर्काको नाममा परीक्षा दिँदै गरेका ४ जना र एकजना परीक्षार्थीलाई पक्राउ गरेको छ । ललितपुरको किष्ट कलेजमा एमबीबीएस पढ्दै गरेका ३ जना विद्यार्थीसहित ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए ।

पक्राउ पर्नेमा किष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । भारतबाट आएर अर्काको नाममा परीक्षा दिँदै गरेका इस्तियाक अहमद र परीक्षार्थी सन्नीकुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुले परीक्षार्थीको नागरिकता बोकेर प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चैत १८ मा सञ्चालित प्रवेश परीक्षा दिँदै गरेका उनीहरु सिसिआरसी कलेज, एम्बीसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिएबापत उनीहरुले ५० हजार देखि १ लाख ५० हजार अग्रिम पैसा लिएका थिए । रिजल्टका आधारमा थप पैसा लिनेगरी उनीहरु प्रवेश परीक्षामा सहभागी भएका हुन् ।

पूर्ण छात्रवृत्तिमा नाम निकालिदिएमा १८ लाखसम्म ‘खेताला’ परीक्षार्थीलाई दिनेगरी ‘डील’ भएको अनुसन्धानबाट खुलेको एसएसपी कुँवरले बताए । उनले भने– ‘पूर्ण छात्रवृत्ति, पेइङ र जस्ट पास गर्ने वर्गीकरणको आधारमा प्रवेश परीक्षामा नाम निकालेपछि ५ देखि १८ लाखसम्म पैसा लिने दिने डील भएको पाइयो ।’

सप्तरी घर भएका २६ वर्षीय रामआशिष यादव अहिले किष्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा पढ्दै छन् । चैत १८ मा पक्राउ परेका राम आशिषको २० चैतमा पनि अर्काको नाममा परिक्षा दिने कार्यतालिका थियो । रुपन्देही घर भएका २० वर्षीय स्मित सिंहको नाममा परीक्षा दिँदै गरेको अवस्थामा उनी कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन् ।