मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

फैडोल खानेपानीमा गोदावरी कांग्रेसको घटिया राजनीतिः घरधुरी १२ हजार रुपैयाँ चन्दा उठाई ट्याङ्की बनाइयो, जस लिए गजेन्द्र र विष्णुमानले 

फैडोल खानेपानीमा गोदावरी कांग्रेसको घटिया राजनीतिः घरधुरी १२ हजार रुपैयाँ चन्दा उठाई ट्याङ्की बनाइयो, जस लिए गजेन्द्र र विष्णुमानले 

काठमाडौं
करिब ३ वर्ष अघिको कुरा हो । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित फैडोल भन्ने स्थानमा पानीको हाहाकार थियो । जेनतेन त्यहाँका बासिन्दा कुवाको पानीमा भर पर्दथे ।  १८ असोज २०७६ पछि १ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण सम्पन्न भई फैडोलबासीलाई विधिवत रुपमा पानी बाँडे । स्थानीय खुशी भए । वर्षौँदेखि खानेपानीका लागि गरेका सङ्घर्षका दिन सम्झेर सुस्केरा लगाए । सुखका सास फेरे ।

खानेपानीको ट्याङ्की निर्माणदेखि पानीको पाइप बिछ्‌याउने लगायत समग्र खानेपानीको योजना सम्पन्न गरी आफ्ना आँगनको धारासम्म पानी खसाल्न गरेको दुःख फैडोलबासीले अझै बिर्सिन सकेका छैनन् । हरिमाया मिजारले दिनहुँ खानेपानीको योजनाको काममा खटिएको बताइन् । श्रम सहित आर्थिक रुपमा समेत आफूहरूको लगानी खानेपानीको योजनामा परेको उनले बताईन् । ‘खानेपानीको योजनामा सबै गाउँले पाइप पुर्ने, खन्ने मात्रै गरेनौ । प्रत्येक घरधुरीबाट १२÷१२ हजार रुपैयाँ चन्दा समेत उठाएर योजनामा हालेका छौँ’, मिजारले सुनाईन् ।

तर अहिले निर्वचन नगरप्रमुख गजेन्द्र महर्जन र वडा ६ का निवर्तमान वडा अध्यक्ष विष्णुमान महर्जनले आफूहरूले पानी ट्याङ्की बनाई दिएको भन्दै भोट माग्ने अस्त्र बनाएको सुनेपछि मिजारको कन्चट तातेको उनी सुनाउँछिन् । ‘गर्ने बेला हामीले दुःख गर्ने । अहिले चुनाव आयो भन्दैमा हामीले बनायौँ भनेर उनीहरूले भन्न पाइन्छ र रु’, मिजारले आक्रोशित हुँदै प्रश्न गरिन् ।

उनीहरु दुवैले फैडोलको पानी ट्याङ्की बनाई दिएको र सर्वश्रेष्ठ भन्दै पुरस्कार समेत दिएको विभिन्न सञ्चारमाध्यमलाई अभिव्यक्ति दिँदै हिँडेका छन् । घरधुरी १२ हजार रुपैयाँ चन्दा उठाएर बनाएको पानी ट्याङ्कीमा उनीहरूले जस लिँदै चुनावी अस्त्र बनाएपछि कुडोलबासी तीव्र आक्रोशित छन् ।

खानेपानीको ट्याङ्की निर्माण गर्दा सर्वप्रथम प्रदेश सांसद चेतनाथ सञ्जालले प्रदेशबाट ४० लाख बजेट छुट्याइ काम सुरु गरेको फैडोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम थापाले बताए । ‘फैडोलमा खानेपानीको हाहाकार हुँदा प्रदेशबाट ४० लाख रुपैयाँ बजेट छुटेको हो । त्यसपछि वडाले ६० लाख र नपुग बजेट नगरले ४० लाख हालेको हो ।’, उनले भने ।  तर गजेन्द्र र महर्जनले भने त्यस खानेपानीको योजनामा राजनीतिको घटिया खेल खेले । नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको भन्दै शिलालेख लेख्न लगाए ।

पानी ट्याङ्कीमा वडा, नगर र प्रदेशको यत्ति यत्ति बजेट परेको उल्लेख गराईएन । जम्मा सम्पन्न हुँदा लागेको लागत समेत उल्लेख गर्न लगाएन । अरु त अरु स्थानीयको १२÷१२ हजार रुपैयाँ घरधुरीबाट उठाईएको रकम समेत खुलाईएन र श्रमदानको केही मुल्यांकन भएन । खानेपानी ट्यांकी उद्घाटनमा समेत प्रदेश सांसदसहित विपक्षी दललाई थाहै दिइएनन् । यस विषयमा गजेन्द्र र विष्णुमान दुबै जनालाई सम्पर्क गर्दा यो विषयमा केही बोल्न चाहेनन् ।