आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

विकासप्रेमी निवर्तमान वडाअध्यक्षको विकास मोडलः ३५ लाखको पाटी, १ वर्षसम्म पनि छानो विहिन

विकासप्रेमी निवर्तमान वडाअध्यक्षको विकास मोडलः ३५ लाखको पाटी, १ वर्षसम्म पनि छानो विहिन

काठमाडौं
चुनाव जितेपछि जनप्रतिनिधिले कस्ता कस्ता विकासका मोडल अभ्यासमा ल्याए त । त्यो उदाहरण हेर्न कतै टाढा जानै पर्दैन । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टिकाभैरब मन्दिर परिषरमा बनिरहेको पाटी हेर्दा छर्लाङ्ग भइहाल्छ । त्यहाँ पुरानो पाटी भत्काएर नयाँ पाटी निर्माण भइरहेको छ । तामाको छानो, बुट्टेदार कलात्मक इटा, अग्राखको काठको प्रयोगबाट कलाकृति जडित पाटी निर्माणाधिन छ ।

पाटी निर्माणका लागि बजेट सुन्दा तपाइको होस हराउन सक्छ । त्यो पाटी निर्माणका लागि निवर्तमान वडा अध्यक्ष विष्णुमान महर्जन आफैँले ३५ लाख रुपैयाँ बजेट छुट्याएका थिए । पाटी निर्माणको जिम्मा आफ्नै कार्यकर्तालाई दिइएको छ । पाटी निर्माणको १ वर्ष वित्दासम्म पनि अझै छान हाल्न सकिरहेको छैन । ठूलो बजेटमा सानो पाटी निर्माणमा भइरहेको ढिलाइलाई कम रोचक छैन ।

विकासप्रेमी मानिएका वडाअध्यक्ष महर्जनको कार्यक्षमतामा समेत यस किसिमको विकासका मोडलले गर्दा शंकाको वातावरण सिर्जना गरेको छ । समयमै पाटीमा छानो हाल्न नसक्दा निवर्तमान वडा अध्यक्ष महर्जन आलोचनाको पात्र बनेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा अध्यक्षमा दोहोरिन उम्मेदवारी हालेर चुनावी मैदानमा छन् ।