आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

#Operation: नख्खु खोला नै व्यक्तिको नाममा सार्न वडा अध्यक्षसहितको गिरोह सकृय, नगरप्रमुख बने मुकदर्शक

#Operation: नख्खु खोला नै व्यक्तिको नाममा सार्न वडा अध्यक्षसहितको गिरोह सकृय, नगरप्रमुख बने मुकदर्शक

ललितपुर । 
ललितपुरको पौराणिक कथा बोकेको नख्खु खोला व्यक्तिको नाममा सार्न एक गिरोह सकृय भएको पाईएको छ । गोदावरी नगरपालिका–१२ स्थित ठेचोका एक स्थानीय सहित, वडा १२ का वडा अध्यक्ष, ठूलै गिरोह संलग्न देखिएको हो । 

खोला व्यक्तिको नाममा सार्न वडा अध्यक्ष जगतबहादुर महर्जनले खुलेरै सिफारिस गरेको पाईएको छ । सार्वजनिक खोलालाई उनले आफ्नो पदिय हैसियत बिर्सेर पदको दुरुपयोग गर्दै गिरोहलाई सिफारिस दिएर आफूपनि त्यस गिराहमा सकृय देखिएका छन् । नगरप्रमुख गजेन्द्र मजर्हनकै वडा अध्यक्षले यस्ता कार्य गरेपनि केही थाहा नभएको जस्तै गरिरहेका छन् ।  साविक ठेचो गाविस वडा ३ सिनं १५३२ कायम भएको ९  रोपनी ४ आना क्षेत्रफलको जग्गा नापी कार्यालयको फिल्डबुकमा बिरह खोला उल्लेख छ । 

‘उक्त जग्गा २०४५ पछि सरकारको नाममा दर्ता भएको र नक्सामा समेत उक्त कित्ता नछुटिएको हुँदा निवेदकको माग दाबी उपयुक्त लागेको हुनाले त्यस कार्यालयको नियमानुसार आवश्यक कारबाही गरि दिनु हुन सिफारिस पठाएको व्यहोरा अनुरोध गरिन्छ’, सिफारिस पत्रमा उल्लेख गरिएको छ ।  वडा अध्यक्ष महर्जनले २०७७ असोज १२ गते चलानी नं। २०८ मार्फत भूमिसुधार तथा मालपोत कार्यालयलाई सिफारिस गरेको हो ।

सो जग्गाको चार किल्ला पूर्वमा राजकुलो, पश्चिममा गोरेटो बाटो, उत्तरमा नख्खु खोला र दक्षिणमा साविक कि।नं। २६७ जग्गा देखाएपनि नक्सामा उक्त चार किल्ला देखिने कुनै जग्गा र नाप नक्सामा नामोनिसान भेटिँदैन । 

वडा अध्यक्ष महर्जनले आफूले उक्त जग्गाको सिफारिस गरेको स्वीकारेका छन् । ‘वडामा प्राप्त कागजात हेर्दा निवेदक अन्यायमा परेको पाईयो । सोहि अनुसार सिफारिस गरि पठाएको सत्य हो ।’, वडा अध्यक्ष महर्जनले बताए । 

उक्त जग्गा कृष्णलाल ज्यापुको नाममा रहेको कागजातबाट पुष्टि हुन आएको वडा कार्यालयले पुष्टि गरेको छ । निवेदक जवाहरलाल महर्जन ज्यापुका नाती हुन् । उनी नाती महर्जनले सिफारिस पाउन वडामा निवेदन पेश गरेका थिए । 

महर्जन पेसाले पाटन संयुक्त क्याम्पसका प्रोफेसर समेत हुन् । उनले त्यहाँ अंग्रेजी विषय पढाउँछन् । उनीसँग २०२० सालअघि तिरो तिरेको कागजातहरु देखिन्छ । सोही आधारमा उनी सहित दलाल गिरोह व्यक्तिको नाममा ल्याउन सकृय देखिएको छ । प्रोफेसर महर्जनले आफू अन्यायमा परेको बताए । २०२० साल अघिसम्म बाजेले तिरो तिरी कमाइरहेको जग्गा बाढी आएर खोलामा परिणत भयो । पछि सरकारको नाममा गयो । बाजे देखि म सम्म अन्यायमा परेको अबस्था छ ।’, उनले भने ।

नगरभित्रको सम्पूर्ण सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय तहको हो । तर यस विषयमा गोदावरी नगरपालिकाका पदाधिकारी भने मौन छन् । वडा अध्यक्षबाटै अधिकारबो दुरुपयोग गरी भएको यस्तो सिफारिसलाई लिएर छानविन गर्नुको सट्टा नगरपालिकाका पदाधिकारीहरु मौन छन् । उनीहरु तै चुप मै चुप गरी कानमा तेल हालेर बसिरहेका छन् ।